‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमी कसरी ? सर्वोच्चले माग्यो जवाफ !

काठमाडौँ -भारतीय संसदको नयाँ भवनभित्र राखिएको ‘अखण्ड भारत’को भित्ते नक्सामा नेपालको भू–भाग समेटिएको विषयमा सर्वोच्च अदालतले सरकारसँग जवाफ मागेको छ ।

न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले पुस २६ गते सरकारको धारणा किन सार्वजनिक नगरेको र भारतलाई औपचारिक रुपमा किन पत्राचार नगरेको भन्दै १५ दिनभित्र जवाफ पेस गर्न आदेश दिएको छ ।

भारतको संसद भवनमा टाँसिएको ‘अखण्ड भारत’ नाम दिइएको नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगर समावेश गरिएको भन्दै अधिवक्ता रामबहादुर शाहले सरकारले भारतलाई लिखित पत्राचार नगरेको र सरकारको आधिकारिक धारणा सार्वजनिक गरिपाउँ भनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई गत पुस २३ गते सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । भारतले २०७८ जेठ १४ गते नयाँ संसद भवन उद्घाटन गर्दै नेपाल र बंगलादेशका भू–भाग समावेश गरेको थियो ।