कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा खोप​ डिस्पोजल गरिदै 

काठमाडौँ । सरकारले कोरोना भाइरसविरुद्ध ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि ‘डिस्पोजल’ को तयारी गरेको छ ।

चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरी म्याद सकिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विसर्जन गर्ने तयारी गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा खोप विसर्जनको तयारी भइरहेको जानकारी दिए । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बुस्टर डोजका लागि प्रयोग गर्न नभनेपछि राष्ट्रिय खोप सल्लाहकार समितिले उक्त खोप नलगाउने निर्णय गरेको थियो ।

उक्त खोप चीन सरकारबाट अनुदानमा २०७८ वैशाख १२ गते ३४ लाख ४३ हजार तीन सय ६० मात्रा र वैशाख १४ गते पाँच लाख ५६ हजार ६ सय ४० मात्रा खोप नेपाल आएको थियो ।