अपवादबाहेक नेपालीको भावना संविधानले समेटेको प्रधानमन्त्री ओलीको दाबी   

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपवादबाहेक नेपालीको भावना संविधानले समेटेको दाबी गरेका छन् ।

आज टुँडिखेलमा आयोजित संविधान दिवस मूल समाहरोहलाई सम्बोधन गर्दै ओलीले संविधान सर्वस्वीकार्य भइसकेको जिकीर गरे। 

संविधान सर्वस्वीकार्य नभएको भए संविधान निर्माणका क्रममा उत्कर्षमा पुगेको असहमती यसै शान्त नहुने धाराणा राख्दै उनले केही असहमतिको आडमा नेपालीबीचको सद्भाव  खल्बल्याउने चेष्टा नगर्न चेतावनी समेत दिए।

सोही क्रममा बोल्दै प्रधानमन्त्री ओलीले संविधानले दिएका अधिकार नागरिकले अनुभूत गर्न नपाएको स्वीकार गरे।

शिक्षा, स्वास्थ्यजस्ता मौलिक अधिकारको नै सम्बोधन गर्न नसकिएको उनको भनाइ छ। रोजगारीको अधिकार प्रभावकारी ढंगले कार्यान्वयन गर्न नसकैकै कारण युवाहरु देश छोड्न विवश रहेको, निरपेक्ष गरिवी कायम रहेको, भेदवाव अझै पनि केही हदसम्म कायम रहेको बताए।

अब यी अधिकार उपभोग गर्दै संविधानलाई जिवन्त बनाउन नागरिक र राज्य दुबैको उत्तिकै जिम्मेवारी रहने उनको भनाइ छ।  प्राप्त अधिकारको रक्षा र संविधान कार्यान्वयनको लडाईं अब बाँकी रहेको ओलीको भनाइ छ।