१० दिनभित्र अखिल क्रान्तिकारीले राष्ट्रिय सम्मेलन गर्ने  

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन १० दिनभित्र गर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको माओवादी पदाधिकारी बैठकले पार्टी अध्यक्ष र महासचिवले संगठन इन्चार्ज र अध्यक्षसँग छलफल गरेर १० दिनभित्र राष्ट्रिय सम्मेलन गर्ने गरी मिति तय गर्ने निर्णय गरेको प्रवक्ता  सापकोटाले बताए । 

यसअघि असोज २ देखि ५ गतेसम्म काठमाडौँमा तय भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको थियो ।

अखिल क्रान्तिकारीको केही प्रदेशको सम्मेलन हुन बाँकी रहेकाले तत्कालका लागि पूर्वनिर्धारित सम्मेलन स्थगित गरेको सूचना प्रकाशित गरेको थियो ।