देशभरका ठूला अस्पतालहरूमा तत्काल विस्तारित सेवा थाल्न स्वास्थ्य मन्त्रालयको निर्देशन  

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विस्तारित अस्पताल सेवा प्रदान नगरेका संघीय अस्पतालहरूलाई विस्तारित सेवा सुरु गर्न निर्देशन दिएको छ।

आज शुक्रबार एक विज्ञप्ती जारी गर्दै स्वास्थ्य मन्त्रालयले  ठूला संघीय अस्पतालहरूले तत्कालै विस्तारित सेवा प्रदान गर्न निर्देशन दिएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तिमा विस्तारित सेवा सुरु गरेर मन्त्रालयलाई जानकारी दिन निर्देशन दिइएको छ।

नवनियुक्त स्वास्थ्य मन्त्री प्रदीप पौडेलले आफू नियुक्त भएलगत्तै एक महिनामा सरकारी अस्पतालमा लाइन लाग्नु नपर्ने व्यवस्था गर्ने बताएका छन्।

पौडेलले महिना दिनभित्र लाइन लाग्नुपर्ने अवस्था अन्त्य गर्ने घोषणा गरेकै बेला विस्तारित अस्पताल सेवा कार्यक्रम लागू गर्नका लागि मन्त्रालयले निर्देशन जारी गरेको छ।