पहिरोले गाडी पुरियो, मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाण्डौँ - मध्यपहाडी लोकमार्ग अन्तर्गत खुर्कोट घुर्मी सडकखण्डमा आज बिहान पहिरो जाँदा एक गाडी पुरिएको छ भने सडक अवरुद्ध भएको छ ।
पहिरोले गोलन्जोर गाउँपालिका ६, हैबारबेंसी नजिकको अक्करेभिर, गोलन्जोर १ कुँडुले, फिक्कल गाउँपालिका २, सुम्नामबेंसी लगायत क्षेत्रमा सडक अवरुद्ध भएको हो । खुर्कोटबाट पूर्वतर्फको सडकखण्ड अवरुद्ध हुँदा दर्जनौं सवारीसाधन तथा यात्री अलपत्र परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले बताए ।

सडक अवरुद्ध भएको स्थानमा स्थानीय बासिन्दासँगै सुरक्षाकर्मी पुगेका छन् । अहिले पहिरो पन्छाउने काम भइरहेको एसपी काफ्लेले बताए ।