निजी तथा सामुदायिक अस्पताललाई बिमामा समेटी सेवा विस्तार गरिने 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी अस्पताललाई समेत स्वास्थ्य बिमा कार्यक्रममा सूचीकृत गरिने बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले बिमा कार्यक्रमलाई सबैको पहुँचमा पुर्‍याउन यस्तो तयारी भएको बताए ।

रास्वपा सांसद डा. चन्दा कार्कीले सोधेको स्वास्थ्य बिमा कार्यक्रम सबै नागरिकको पहुँचमा पुर्‍याउन के गरिँदैछ ? भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले सो जवाफ दिएका हुन् ।

 “आगामी आर्थिक वर्षदेखि आधारभूत अस्पतालबाट पनि स्वास्थ्य बिमा सेवा सुरु गरिनेछ, निजी तथा सामुदायिक अस्पताललाई पनि बिमामा समेटी सेवा विस्तार गरिनेछ,” जवाफमा प्रचण्डले भने ।

यस्तै, उनले बिमामा समेटिएका औषधिको सहज उपलब्धताका निम्ति आगामी वैशाख १ गतेदखि छुट्टै रिफिल काउन्टरमार्फत औषधि वितरण गरिने र सबै अस्पतालबाट मंगलबार जेरयाट्रिक क्लिनिकमार्फत सेवा दिइने बताए । 

बिमा सेवाबापतको शोधभर्ना दुई महिनाभित्र हुने व्यवस्था गर्न बिमा बोर्डमा जनशक्ति थप्ने प्रक्रिया अघि बढाइएको पनि उनले बताए ।