उमेर नपुगिकन विवाह गर्नेको सङख्या बढ्दै

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–९ नौखरीका जगन्नाथ डगौरा बालविवाह रोकथाम हुन नसक्दा निकै चिन्तित छन्। उमेर नपुग्दै विवाह गर्ने कार्यलाई निरुत्साहित गर्नुपर्नेमा उनको जोड रहेको छ। थारू समुदायमा अशिक्षा, गरिबी र जनचेतनाको अभावका कारण बालविवाहले परिवारमा मान्यता पाउँदै आएको उनी बताउँछन्।

“थारू समुदायमा सामाजिककार्यको अगुवाइ गर्ने बडघरियाले बालविवाह रोक्नका लागि शिक्षा दिनुपर्छ”, उनले भने, “बालविवाहलाई प्रश्रय दिने परिवारलाई सामाजिकरूपमा बहिष्कारको अभियान चलाउनुपर्छ, वडघरियाले चाहे बालविवाह रोक्न सक्छन्।”

बालविवाहविरुद्ध गाउँ–बस्तीमा कुरा गरे धेरै जान्ने आइस भनेर उल्टै खप्की खानुपर्ने अवस्था रहेको उनले बताए। उनका अनुसार बालविवाह विशेषगरी मुक्त कमैया परिवारमा बढ्दै गएको छ। मागी हुने बालविवाह कम हुँदै गए पनि भागेर गरिने विवाह अधिकांश बालविवाह नै हुने गरेका छन्।

बालविवाह गर्ने अधिकांशको सम्बन्ध बीचमै टुट्ने गर्दछ। बालविवाह गर्नेले दोस्रो विवाह गरेका घटनाहरू गाउँघरमा देखिँदै आएको सुनिता डगौराले बताइन्।

“केही वर्षअघिदेखि बालविवाहविरुद्ध महिला समूहमा आबद्ध महिलाले आवाज बुलन्द गर्दै आएका थियौँ”, उनले भनिन्, “त्यसको प्रभावका कारण बालविवाह केही वर्ष रोएिको थियो, जनचेतना फैलाउने कार्य रोकिएसँगै पुनः बालविवाह हुन थालेका छन्।” गाउँका १० जना बढीले आधारभूत तहकै कक्षा ८ पढ्दै गरेका बेला विवाह गरेको उनले बताइन्।

मुक्त कमैया परिवारको अधिकांशको आर्थिक अवस्था निकै दयनीय रहेको उल्लेख गर्दै उनले त्यसमै विद्यालय पढ्दै गरेका बालकले भगाएर बालिका भित्र्याउने गरेको बताइन्।