माओवादी नेता गगन पुरी दोषी ठहर, ४ करोड ३ लाख जरिवाना   

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता रेवतराज पुरी ‘गगन’ लाई सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको छ । 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार सजाय निर्धारण गरी नेता पुरी र निजकी श्रीमती सीमा भनिने केशावती पुरीलाई चार करोड तीन लाख ३४ हजार आठ सय ९४ जरिवाना सुनाएको हो ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले अभियोगपत्रमा जफत गर्न भनी दाबी गरिएको सम्पत्तिबाट बिगो बराबरका सम्पत्ति जफत हुने फैसला भएको जानकारी दिए ।

प्रतिवादी बनाइएका मनमाया पुरी र देवकुमार पुरीलाई अदालतले सफाइ दिएको छ भने कृष्णकुमारी पुरी र सङ्गीता पुरीको नामको जग्गा जफत नहुने फैसला गरेको छ ।

झापाको ‘बालुवाटार काण्ड’ भनेर चिनिने दमक–१३ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरण विभागले उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो ।