हाम्रो राम्रो काम देखेपछि विरोधीहरु आत्तिएर नयाँ गठबन्धन बनाए : प्रचण्ड  

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरूले राम्रो काम गरेका कारण विरोधीहरू आत्तिएर नयाँ गठबन्धन बनाएको बताएका छन् ।

तत्कालीन एकता (केन्द्र) का केन्द्रीय सदस्य रामवृक्ष यादवको स्मृतिमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीलाई सुदृढ र एकताबद्ध गर्दै जनतामा जाने अभियानको गृहकार्य गरिएको बताएका छन् । जनताका मुद्दाका रक्षाका निम्ति माओवादी केन्द्रले संघर्षको मोर्चालाई सुदृढ उल्लेख गरे ।

‘जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशंका जन्मिएको छ, प्रश्नहरू जन्मिएका छन् । जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको विकल्प छैन । मैले सदन र सडकबाट संघर्षको विकल्प देखेको छैन । हामीले राम्रो काम गरेका कारण विरोधीहरू आत्तिएर नयाँ गठबन्धन गरिएको छ । यो अपवित्र छ, यसको उद्देश्य गलत छ । पार्टीलाई सुदृढ गर्ने, अझ बलियो बनाउनेतिर हामी अगाडि बढेका छौँ’, उनले भने ।

उनले स्थायी समिति बैठकमा खुला र गम्भीर छलफल गरिरहेको र पार्टी थप सुदृढ गर्ने प्रक्रिया अगाडि बढेको बताए । ‘केन्द्रीय समितिको बैठकबाट व्यवस्थित कार्यक्रम र कार्ययोजना बनाएर अगाडि बढ्छौँ’, उनले भने ।