भ्रष्टाचार विरुद्ध कानुन अनुसार शून्य सहनशीलता अपनाइन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार विरुद्ध कानुन अनुसार शून्य सहनशीलता अपनाइने बताएका छन् ।

नेपाल खेलकुद महासंघको तेस्रो केन्द्रीय कमिटी बैठकलाई आइतबार सम्बोधन गर्दै ओलीले कसैलाई आग्रह वा पूर्वाग्रह राखेर फसाउने काम सरकारबाट नहुने  बताए ।

उनले स्वतन्त्रता भनेको छाडापन नभएको बताए । ओलीले भने, ‘स्वतन्त्रताको हक भनेको बेलगमा र छाडा हुनु होइन, लोकतन्त्र भनेको छाडातन्त्र होइन ।’

कसैको सनकका भरमा शासन सञ्चालन नहुने उनको भनाई छ । ‘लोकतन्त्र एउटा अनुशासित समाज हो’, उनले भने, ‘सामाजिक प्रबन्ध मानेर नै समाज चल्ने हो, संविधान, कानुन मानेर नै समाज चल्छ ।’

नेपालमा स्थापना गरिएको प्रणाली उपयुक्त छ कि छैन भन्ने विषयमा अहिले छलफल गर्ने बेला नभएको ओलीको भनाई छ । संवैधानिक व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न र सफल बनाउने तर्फ ध्यान जानु पर्नेमा ओलीले जोड दिए ।

बैठकमा ओलीले सरकार, देश असफल पार्न खोज्नेहरू हुन सक्ने भन्दै त्यसविरुद्ध बोल्न आग्रह गरे । “हामी राष्ट्रिय एकताको पक्षमा छौँ । अनेक प्रकारका शक्तिहरूले विभिन्न नाममा राष्ट्रिय एकता भाँड्न खोज्छन् । जनता–जनताकाबीचमा सङ्कीर्ण साम्प्रदायिक कुराहरू गर्न सक्छन् । र, धर्म, जात, भाषा, संस्कृतिका नाममा कहाँकहाँ भिन्नता भेटिन्छ, त्यसलाई दुरुपयोग गरेर पारस्परिक घृणाको विषय बनाउन सक्छन्,” ओलीले भने ।