देशको अप्ठ्यारो परिस्थितिलाई बुझेर कांग्रेस - एमाले एक भएका हौँ : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको अप्ठ्यारो परिस्थितिलाई बुझेर कांग्रेस र एमाले एक भएको बताएका छन् । 

बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । अहिले देश साँच्चै नै अप्ठ्यारो स्थितिमा रहेको बताउँदै उनले अहिले देशको स्थितिलाई महशुस गरी त्यसबाट मुक्ति दिलाउन सरकारमा आएको औंल्याए ।

उपप्रधानमन्त्री समेत रहेका पौडेलले  आफूहरु फोटो टाँस्नका लागि मात्रै सरकारमा नआएको जिकिर गर्दै उनले सबै क्षेत्रमा टुटेको मनोबल उठाउन कठिन हुने स्थितिका कारण दुई ठुला राजनीतिक दलहरु मिलेर सरकार बनाएको बताए ।

उनले भने, ’हामी सरकारको सूचीमा अर्को एउटा सरकार बनाउने, प्रधानमन्त्रीको सूचीमा तीन पटक फोटो टाँसेको हुनाले चौंथो पटक फोटो टाँस्न जाने, हाम्रो अहिलेको प्रधानमन्त्री चौंथो चोटी फोटो टाँसेर भूतपूर्व प्रधानमन्त्री बन्न आइरहनुभएको होइन । हामी मेजर पार्टीहरु बेलाबेलामा मिलेका छौँ र बेला बेलामा प्रतिस्पर्धा गरेका छौँ ।’