राजनीतिक भागबन्डाको आधारमा नियुक्ति हुने संस्कारको अन्त्य हुनुपर्छ :  रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले  राज्यका विभिन्न निकायमा राजनीतिक भागबन्डामा आधारमा नियुक्ति हुने संस्कारको अन्त्य हुनुपर्ने बताएका छन् ।

रास्वपाले आज यहाँ आयोजना गरेको ‘नीति मन्थन’ अन्तरक्रियामा उनले राजनीतिक नियुक्तिको प्रभावलाई अन्त्य गर्न स्वायत्त निकायको स्थापना र स्वतन्त्र रुपमा काम गर्न सक्ने योग्य विज्ञ व्यक्तिको नियुक्ति हुनुपर्नेमा जोड दिए।

रास्वपाको अर्थनीति विभाग र उद्योग तथा वाणिज्य विभागद्वारा आयोजित अन्तरक्रियामा पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेले राज्यका विभिन्न निकायमा हुने राजनीतिक नियुक्तिले मुलुकको सुशासनमा प्रभाव पर्ने धारणा राखे।