अधिवक्ता नानी थापाविरुद्ध अख्तियारमा उजुरी, दोहोरो सुविधा लिएको आरोप

काठमाडौँ - अधिवक्ता नानी थापा भन्ने लक्ष्मी थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ घर भएकी थापाले सिन्धुपाल्चोक जिल्ला अदालत र काठमाडौँ जिल्ला अदालतबाट दोहोरो सुविधा लिएको भन्दै साउन १ मा अख्तियारमा उजुरकर्ताले उजुरी दर्ता गराएका हुन् ।

प्रमाणपत्र नम्बर–१६८५१ बाहक थापा सिन्धुपाल्चोक जिल्ला अदालतको वैतनिक वकिल हुन् । रा।प तृतीय शाखा अधिकृत सरहको तलब सुविधा लिने गरी उनी त्यहाँ २०७९ चैत २५ मा नियुक्त भएकी थिइन् । काठमाडौँ जिल्ला अदालतमा पनि उनले बाल मनोविज्ञ नियुक्त भएर काम गरेको र तलब, भत्ता बुझेको भेटिएको छ ।

काठमाडौँ जिल्ला अदालतमा २६ वटा मुद्दामा प्रतिवेदन दिएर उनले रकम लिएको जिकिर गर्दै उजुरकर्ताले दोहोरो सुविधा लिएको घटनामा छानबिन र अनुसन्धान गर्न माग गरेका छन् । अख्तियारमा सि–०००१९४ नम्बरमा उजुरी दर्ता भएको उजुरकर्ताले जानकारी दिए ।