मौद्रिक नीतिमा सेयर लगानीकर्तालाई कस्तो छ सुबिधा ? 

काठमाडौँ - नेपाल राष्ट्र बैंकले केही लचकताका साथ चालु आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले सवारी कर्जा, घरजग्गा खरीद लगायतमा सहुलियत दिएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरूको लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था प्रोभिजन ५० आधार विन्दुले घटाएर १.२० प्रतिशत कायम गर्ने व्यवस्था मौद्रिक नीतिको समीक्षामा गरिएको छ ।

यसअघि बैंक तथा वित्तीय संस्थाले असल कर्जाको जोखिम भारका लागि १.२५ प्रतिशत प्रोभिजनिङ गर्नुपर्ने व्यवस्था थियो । समग्रमा मौद्रिक नीतिको समीक्षा लचिलो भएको जानकारहरू बताउँछन् । सेयर बजारका लगानीकर्ताहरूले भने फरक फरक प्रतिक्रिया दिएका छन् ।

मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतित भइसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पूँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था गरेको छ ।

यस्तो व्यवस्थाले बजारमा माग सिर्जना नगर्ने, तर आपूर्ति बढाउने कतिपय जानकारहरू बताउँछन् । नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवाली यस्तो व्यवस्थाले सेयर बजार सकारात्मक नबन्ने बताउँछन् ।

यस अघि प्राथमिक पूँजीको ३० प्रतिशत सेयर खरीद गर्न पाउने व्यवस्था भए पनि १ प्रतिशत मात्र बिक्री गर्न पाउने व्यवस्था थियो । किन्न पाउने तर बेच्न नपाउने व्यवस्थाले बैंकहरूलाई असहज भएकोमा अब बैंकहरूलाई सहज बनाउने कतिपय लगानीकर्ताहरूको तर्क छ ।