नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको ७० प्रतिशत काम पूरा

झापा - नेपालकै ठूलो र कोशी प्रदेशकै नमूना परियोजनाका रूपमा रहेको सौर्य विद्युत् परियोजनाको निर्माण कार्य द्रुतगतिमा भइरहेको छ । शिवसताक्षी नगरपालिका–४ मा झापा इजर्नीले निर्माण गरिरहेको परियोजनाको हालसम्ममा ७० प्रतिशत काम पूरा भएको छ ।

पूर्वपश्चिम राजमार्गको झिलझिले चोकदेखि करिब सात किलोमिटर दक्षिणमा रहेको परियोजनाको निर्माण कार्य असार मसान्तभित्र सम्पन्न गरिने झापा इनर्जीका सञ्चालक सदस्य सुवास भट्टराईले जानकारी दिए । उनले साढे तीन वर्षअघि निर्माण सुरु गरिएको परियोजना कोभिड–१९ का कारण सञ्चालनमा आउन ढिलो भएको बताए । 

इनर्जीको नाममा खरिद गरेको २२ बिघा जमिनमा हाल परियोजनाको प्यानल राख्ने संरचना निर्माणको काम भइरहेको उनको भनाइ छ । उनले परियोजना निर्माणमा रु ४० करोड लगानी भइसकेको बताए ।