मकवानपुरमा कार दुर्घटना अपडेट : दुईको मृत्यु, एक जना गम्भीर

हेटौंडा - ललितपुरबाट हेटौंडातर्फ आइरहेको कार मकवानपुरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर रहेका छन् । शनिबार बिहान साढे ७ बजे कान्ति लोकपथ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–१२ ठिंगन नजिकै ग ३ च ९४७५ नम्बरको कार सडकबाट करिब ५ सय मिटर खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा भीमफेदी गाउँपालिकाका प्रेमबहादुर ब्लोन र रौतहटका विवेक साहको मृत्यु भएको खबर आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । उनले भने, ‘ठिंगनमा रहेको स्वास्थ्य चौकीका अहेबले दुई जनाको मृत्यु भएको बताएका छन् ।’

यस्तै कार चालक बाराका सञ्जीव साह भने घाइते भएका छन् । उनलाई उपचारका लागि हेटौंडा ल्याइएको प्रहरीको भनाइ छ । उनको अवस्था पनि गम्भीर रहेको बताइएको छ । दुर्घटनापछि अचेत अवस्थामा तीनै जनाको उद्धार गरिएको थियो ।