काभ्रेमा बस र सुमो एक–आपसमा ठोक्किँदा सात जना घाइते

काठमाडौँ । बिपी राजमार्गअन्तर्गत काभ्रे जिल्लाको नमोबुद्ध– २ मा यात्रुवाहक बस र सुमो एक–आपसमा ठक्कर खाँदा सातजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आज दिउँसो  नमोबुद्ध नगरपालकिा– २ बेलास्थित बिपी राजमार्गमा भकुण्डेबाट धुलिखेल आउँदै गरेको बा.३ख ८१५५ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना.१ज ४३७७ नम्बरको सुमो एक–आपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो।

घाइते हुने चालकसहित सबै सुमोमा सवार यात्रु भएको बताइएको छ। घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

घाइते हुनेहरूमा महोत्तरी बर्दिवास बस्ने ५२ वर्षीया रासुदेवी महरा, महोत्तरी बर्दिवास बस्ने ४८ वर्षीया सुमिन्द्रदेवी, महोत्तरी– ३ बस्ने ३९ वर्षीया दुर्गा बराइली, सर्लाही, लालबन्दी बस्ने ३५ वर्षीया सबिना थपलिया, सर्लाही लालबन्दी बस्ने सविना थपलियाकी छोरी आठ वर्षीया छोरी सन्हया थपलिया, महोत्तरीकै ३४ वर्षीय सुमन विक र चालक धनुषा  यज्ञभूमि नगरपालिका– ८ का ५५ वर्षीय विशेश्वर बुर्गामगर  छन्।

बस र सुमो प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।