पाकिस्तानी पूर्वप्रधानमन्त्री खानविरुद्धको मानहानि मुद्दा खारेज

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध २० अर्ब पाकिस्तानी रुपैयाँ विगो दावीसहित दायर गरेको मानहानिको मुद्दा खारेज भएको छ ।

पाकिस्तानका पूर्व प्रधानन्यायाधीश इफ्तिखार मोहम्मद चौधरीले विगो दावीसहित दायर गरेको मानहानिको मुद्दालाई इस्लामाबादको एक जिल्ला अदालतले शनिबार खारेज गरेको हो ।

चौधरीले इमरान खानलाई जुलाई २०१४ मा सन् २०१३ को आम चुनावमा धाँधली गरेको र उनीद्वारा सार्वजनिक एक वक्तव्यमा आफूविरुद्ध अपमानजनक टिप्पणी गरेको आरोप लगाउँदै २० अर्ब पाकिस्तानी रुपैयाँ विगो दावीसहित मानहानिको सूचना जारी गरेका थिए।

खानले आफ्नो भनाइका लागि माफी नमागे कानुनी प्रक्रिया सुरु गर्ने चेतावनी उक्त सूचनापछि चौधरीको कानुनी टोलीले दिएको थियो।

द एक्सप्रेस ट्रिब्यूनको रिपोर्टअनुसार लामो प्रक्रियापछि अदालतले इमरान खानको पक्षमा फैसला सुनाएको छ र चौधरीद्वारा दायर गरिएको मुद्दा खारेज गर्दै मानहानिको सूचना हद नागेपछि जारी गरिएको बताएको छ।

न्यायाधीश हसिना सकलैनले आफ्नो फैसलामा भनेकी छन्, ‘मुद्दाअनुसार अन्तिम कथित मानहानिपूर्ण बयान सन् २०१४ जुन २७ मा गरिएको थियो र मुद्दा सन् २०१५ को जनवरी २० मा दायर गरिएको थियो। मुद्दा दायर गर्दा छ महिना २४ दिन हद नागिसकेकोले मुद्दालाई खारेज गरिएको छ।’

अदालतले मानहानिसम्बन्धी सामग्री प्रकाशित भएको मितिले छ महिनाभित्र मानहानि मुद्दा दायर गर्नुपर्ने र त्यसो गर्न नसके मानहानि अध्यादेश २००२ को दफा १२ अनुसार मुद्दा गर्न नमिल्ने उल्लेख गरेको छ।