मिथिलाञ्चलमा आजदेखि विधिवत् रूपमा होली पर्व शुरु

काठमाडौँ । मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् रूपमा शुरु भएको छ ।

संसारकै लामो यात्रा मानिएको १५ दिने माध्यमिकी परिक्रमाअन्तर्गत आज बिहान महोत्तरीको कञ्चनवनमा साधु, सन्त, महात्माले राम र सीताको प्रतिमामा रङ, अबिर हालेपछि मिथिलाञ्चलमा विधिवत् रूपमा होली शुरु भएको हो ।

१५ दिने माध्यमिकी परिक्रमाअन्तर्गत सातौँ दिनको बासस्थानका लागि भङ्गहा नगरपालिका–९ कञ्चनवनमा पुगेका साधु, सन्त, महात्मासहित सबै परिक्रमा यात्रीले रामसीताको डोला र मूर्तिमा रङ र अबिर लगाएका हुन् ।

त्यसपछि परिक्रमामा सहभागी सयौँ साधुसन्त र परिक्रमा यात्रीले पनि एकापसमा रङ अबिर दलेका थिए । होलीको विधिवत् शुरुवातसँगै आजै बेलुकादेखि मिथिलाञ्चलको गाउँगाउँमा होलीका गीत गाउने, नाचगान गर्ने, हाँसो ठट्टा र व्यङ्गात्मक कविता वाचन तथा चुटकिला भन्ने तथा नाटक देखाइनेछ ।