हजुरबुवा र नातिको हत्यामा संलग्न दुई युवालाई पक्राउ   

काठमाडौँ । हजुरबुवा र नातिको हत्यामा संलग्न दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पश्चिम नवलपरासी(पश्चिम नवलपरासी प्रहरीले घटना घटेको एक महिनापछि सुस्ता गाउँपालिका-३ मर्चहवामा हजुरबुवा र नातिको हत्यामा स्थानीय २९ वर्षीय अजय धरिकार र २० वर्षका चन्दन हरिजनको संलग्नता रहेको प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

गत फागुन १ गते ६५ वर्षका हजुरबुवा यक्षलाल चमार र ११ वर्षका नाति गौचरण चमारको धारिलो हतियार प्रयोग गरेर बीभत्स हत्या भएको थियो ।

अनुसन्धानको क्रममा उनीहरूले छिमेकीसँगको रिस पोख्ने क्रममा दुई जनाको हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिएका छन् ।

छिमेकी अन्य व्यक्तिसँग झगडा भएको तर उक्त व्यक्ति माथि आक्रमण गर्ने उद्देश्यले कुरेर बसे पनि ती व्यक्ति नआएपछि, उसैलाई फसाउने उद्देश्यले हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

दुवैजना माथि अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रहरी नायव उपरीक्षक रेशम बोहोराले जानकारी दिए।