पब्लिक फ्री वाइफाईबाट बैंकिङ कारोबार नगर्न साइबर सुरक्षा विज्ञको आग्रह  

काठमाडौँ । साइबर सुरक्षा विज्ञले पब्लिक (फ्री) वाइफाईबाट बैंकिङ कारोबार नगर्न आग्रह गरेका छन् ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै साइबर सुरक्षा विज्ञ विजय लिम्बूले फ्री वाइफाई (पब्लिक वाइफाई) द्वारा मोबाइल बैंकिङमार्फत कारोबार जोखिम हुने बताएका हुन् । लिम्बूका अनुसार फ्री वाईफाईमा सबैको पहुँच हुने गर्छ ।

फ्री पब्लिक वाइफाईको इन्टरनेट नेटवर्कमा सबैलाई प्रसारित गरिन्छ र ह्याकरहरूले सजिलै नियन्त्रणमा लिन सक्ने उनको भनाई छ ।  मोबाइल बैङ्किङ प्रयोग गर्दा डेटा प्याक वा प्राइभेट वाइफाईबाट मात्र इन्टरनेट चलाउन उनले सुझाव दिएका छन् ।

उनले भने, ‘रेस्टुरेन्टतिरको पनि प्रयोग नगर्नुस् भन्छु। रेस्टुरेन्टको प्राइभेट वाइफाइ धेरैले प्रयोग गरिरहेको हुन्छ। रेस्टुरेन्ट–क्याफेलगायत सार्वजनिक स्थानमा प्रयोग गरिने वाइफाईमा धेरै व्यक्ति पहुँच हुने गर्दा धेरैले इन्टरसेभ गरेर राखेको हुन्छ जसले गर्दा प्राविधिक रूपमा ह्याकिङको सम्भावना रहन्छ ।’

त्यसैले मोबाइल बैङ्किङ वा क्यूआर पेमेन्टको लागि पब्लिक वाइफाई प्रयोग गर्न नहुने लिम्बुको भनाइ छ। पछिल्लो समय अनलाइन कारोबार गर्नेहरूको संख्या बढ्दो छ।

इन्टरनेट सेवा प्रदायकहरूले आफ्नो ग्राहक र प्रयोगकर्ताहरूका लागि भन्दै विभिन्न स्थानमा निःशुल्क वाइफाई सेवा उपलब्ध गराइरहेका छन् । तर यसरी निःशुल्क उपलब्ध हुने वाइफाई छिटो ह्याक हुने जोखिम उच्च रहेको लिम्बूले बताएका छन् ।

सार्वजनिक रूपमा उपलब्ध हुने वाइफाईको सुरक्षा प्रणाली नै कमजोर हुने सुम्भावना बढी हुन्छ। त्यसैले कुनै पनि स्थानमा निःशुल्क वाइफाई उपलब्ध छ भने पनि त्यसमा जोडिहाल्नु हुँदैन।