निर्देशनमा डेब्यु गर्दै तक्मे बुढा, दयाहाङको मुख्य भूमिकामा ‘लाहुरे एन्ड दाउरे’ बन्ने

काठमाडौँ । कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ले निर्देशनमा डेब्यु गर्ने भएका छन् ।  उनले फिल्म ‘लाहुरे एण्ड दाउरे’को निर्माण तथा निर्देशन गर्न लागेका हुन् ।

तक्मे प्रोडक्सन र दयाहाङबीच आइतबार लिखित सहमति समेत भइसकेको छ। फिल्मको मुख्य भूमिकामा उनले सुपरस्टार दयाहाङ राईलाई अनुबन्धित गरेका छन् । 
विल्सनको कम्पनी तक्मे प्रोडक्सनको प्रस्तुती रहने फिल्ममा बुद्धि तामाङ पनि मुख्य भूमिकामा अनुबन्ध भैसकेका छन् । फिल्ममा विल्सनको पनि अभिनय रहनेछ । अभिनेत्री र अन्य कलाकारहरु भने टुंगो लाग्न बाँकी छ ।

कमेडी र लभस्टोरी जनरामा निर्माण हुन लागेको फिल्मको निर्मातामा सरिना लामा (विल्सनकी श्रीमती) र डिबी राई छन् भने कार्यकारी निर्माता राजेन्द्र चोङबाङ हुन् ।

यो फिल्म आगामी वर्षको साउनरभदौंतिर छायाङ्कन सुरु हुने बताइएको छ। पूर्वी नेपालका विभिन्न जिल्लामा फिल्मको छायाङ्कन गरिनेछ। यसअघि विल्सनले विभिन्न टेलिश्रिंखला र म्युजिक भिडियो निर्देशन गरिसकेका छन्।