वरिष्ठ चिकित्सक गौरीशंकरलाल दासलाई नागरिकस्तरबाट ‘दिव्य शताब्दी पुरुष’ उपाधि

काठमाडौं- वरिष्ठ चिकित्सक, समाजसेवी तथा प्रशासनिक क्षेत्रमा लामो समयसम्म क्रियाशील व्यक्तित्व डा. गौरीशंकर लाल दासलाई नागरिकस्तरबाट ‘दिव्य शताब्दी पुरुष’ उपाधिबाट सम्मानित गरिएको छ।

डा. दासको जन्मशताब्दी वर्ष मनाउने क्रममा लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिकाबीच उक्त उपाधि घोषणा गरिएको हो। सिरहा जिल्लामा जन्मिएर २००९ सालदेखि चिकित्सा पेशामा संलग्न डा. लाल दास यही असोज ९ गते एक सय वर्षमा प्रवेश गर्दैछन्।

सोही समारोहमा ‘डा. गौरीशंकर लाल दास जन्मशताब्दी वर्ष’ ४०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको जानकारी गराइयो। समितिको संयोजकमा पूर्व अर्थमन्त्री तथा साहित्यकार शंकरप्रसाद कोइराला, सह संयोजकमा पूर्वमन्त्री विद्याधर मल्लिक र ई. ध्रुव  थापा, सदस्य सचिवमा गणेशराज कार्की र कोषाध्यक्षमा मोहनमणि आचार्यलाई सभाले अनुमोदन गरेको छ।

त्यस्तै सभाले समितिका सदस्यहरूमा अरुणसिंह बस्नेत, आनन्दमोहन लाल दास, विजयनारायण मानन्धर, रमेशजंग थापा, सुनिता रेग्मी पोखरेल, शोभा जोशी, कीर्ति तुलाधर, डा. सुशिला मल्ल, वविता लाभ र वडा नम्बर ७ का वडाध्यक्ष विमलकुमार होडालाई अनुमोदन गरेको छ।

शनिबार चावहिलमा आयोजित विशेष कार्यक्रममा जनस्तरबाट ‘दिव्य शताब्दी पुरुष’ घोषणाको समर्थन गर्दै प्रमुख अतिथि क्षेत्र नम्बर ४ का सांसद, पूर्व स्वास्थ्यमन्त्री गगन थापाले डा. गौरीशंकर लाल दासको सामाजिक योगदानको चर्चा जतिनै गरे पनि कम हुने बताए।

गगनले भने, “राज्यले गरे पनि नगरे पनि, यो विशाल उपस्थितिले घोषणा गरेको ‘दिव्य शताब्दी पुरुष’ आफैंमा प्रभावशाली छ। सादा जीवन, उच्च विचार राख्नुहुने डाक्टर साहब हरेकका लागि प्रेरक व्यक्ति हुनुहुन्छ। उहाँको जन्मशताब्दी वर्ष वर्षभरि उत्साहकासाथ हामी सबैले मनाऔँ” भन्दै थापाले थपे, “आजका युवाहरूलाई पनि यस कार्यक्रमसँग जोड्नु पर्छ। युवाहरूले डाक्टर साहबबाट धेरै कुरा सिक्न सक्छन्। उहाँको सामाजिक जीवन र क्रियाशीलताबारे हामीले नौजवानहरूलाई बताउन जरुरी छ।”