अदालतको आदेशपछि महानगरले शुरु गर्‍यो न्यूरोडमा फुटपाथ विस्तारको काम

काठमाडौँ - उच्च अदालत पाटनले फुटपाथ विस्तारको काम अघि बढाउन बाटो खोलिदिए लगतै काठमाडौं महानगरपालिकाले  न्यूरोड भत्काउन थालेको छ । महानगरपालिकाले पैदल मार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालयको हस्तक्षेपका कारण रोकिएको थियो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासबाट आइतबार अन्तरिम आदेश आएपछि काम फेरि शुरु भएको हो । आज बिहानैबाट महानगरले न्यूरोडमा फुटपाथ विस्तारको काम अघि बढाएको  हो । अहिले डोजर लगाएर सडकको दायाँ–बायाँ भत्काउन शुरु गरिएको छ ।

तीन दिनअघि उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

उक्त आदेशसँगै महानगरले फुटपाथ विस्तारको काम शुरु गरेको महानगरले जनाएको छ । यसअघि महानगर न्यूरोडको सडकको पार्किङ खाली गराएर फुटपाथ बढाउने प्रकिया अगाडि बढाएको थियो । कालोपत्रे समेत काटेर काम शुरु गरिसकेको थियो । तर सडक डिभिजन काठमाडौंले अनुमति नलिई फुटपाथ बढाउन लागेको भन्दै सामान जफत गरी फुटपाथ विस्तारमा रोक लगाएको थियो । महानगरले फुटपाथ बिस्तारको लागि काटेको सडक समेत सडक डिभिजनले पुन पुरेर कालोपत्र गरेको थियो ।