कुकुर मारेको निहुँमा छोराले गरे बाबुको हत्या

नवलपरासी - नवलपरासी पूर्वमा छोराले ढुङ्गाले हानेर बाबुको हत्या गरेका छन् ।  आज बिहान सवा ११ बजे कावासोती नगरपालिका–५ ठकुरीचोकमा बुबा–छोराबीच झगडा हुँदा ढुङ्गा प्रहारबाट बाबु ४३ वर्षीय  प्रेम कुमालको हत्या भएको हो । 

घरमा पालेको कुकुरलाई पिटेको विषयमा प्रेम र उनका १८ वर्षीय छोरा निराजनबीच झगडा भएको पाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेद पौडेलले जानकारी दिए । प्रेमको कुटाईबाट घरमा पालेको कुकुरको मृत्यु भएको थियो । सोही विषयमा झगडा हुँदा निराजनले बाबुमाथि ढुङ्गा प्रहार गरेको डिएसपी पौडेलले बताए ।

उनका अनुसार ढुङ्गा टाउकोमा लाग्दा प्रेमको घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारे खबर पाएपछि प्रहरी निरीक्षक बिक्रम रिजालको कमाण्डमा सात जनाको टोली खटिएको छ । उक्त टोलीले छोरा निराजनलाई पक्राउ गरेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।