सिमलताल पहिरोमा बेपत्ता दुईवटा बसका यात्रुमध्ये हालसम्म १७ जनाको शव फेला, ११ को सनाखत

काठमाडौँ - चितवनको सिमलतालमा असार २८ गते लेदोसहितको पहिरोमा परी बेपत्ता भएका दुईवटा यात्रुवाहक बसमा रहेका यात्रुमध्ये १७ जनको शव फेला परेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

पहिरोमा परी वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस त्रिशूलीमा बेपत्ता भएका थिए । एन्जलमा ३८ र गणपति बसमा २७ जना गरी ६५ यात्रु सवार रहेको प्रहरीले जानकारी दिएको छ ।

सोही दिन बुटवलबाट काठमाडौं आउँदै गरेको लु २ ख ६५६६ नम्बरको बसमा ढुंगा खसेर लाग्दा उक्त बसका लागि पश्चिम नवलपरासीका बस चालक ३६ वर्षीय मेघनाथ विकको मृत्यु भएको थियो । 

पहिरोमा परेको गणपति डिलक्स बसबाट हामफालेर बच्न सफल नन्दन दासको उपचार भइरहेको छ भने जुगेश्वर राय यादव र सरोजकुमार गुप्ता डिस्चार्ज भइसकेका छन् । प्रहरीका अनुसार हालसम्म १७ जनको शव फेला परेकामा ११ जनाको सनाखत भएको छ । एक जनाको सनाखतमा भने विवाद रहेको प्रहरीले जानकारी दिएको छ ।