सन्दीप लामिछानेले बनाए टी-२० आईमा एक सय विकेटको कीर्तिमान्

 काठमाण्डौँ - लेग स्पीनर सन्दीप लामिछानेले टी-२० आई क्रिकेटमा एक सय विकेटको पुर्‍याएका छन् । टी२० विश्वकपअन्तर्गत सोमवार बिहानको बाङ्ग्लादेशविरुद्धको खेलमा दुई विकेट लिएसँगै उनको नाममा उक्त कीर्तिमान् बनेको हो ।

यसअघि ९८ विकेट लिइसकेका लामिछानेले पहिलो विकेट १३.२ ओभरमा तन्जिम हसन सकिवलाई बोल्ड गर्दै लिए । 

उनले दोस्रो विकेटका रूपमा १५.३ ओभरमा जाकिर अलीलाईआउट गर्दै बनाएका थिए । सन्दीपको गुगलीलाई जाकिरले रोक्न सकेनन् ।
उनले ५४ वटा टी–२० आई खेलेर सय विकेट लिएका हुन् ।यो सँगै उनी टी(२० आईमा १०० विकेट लिने विश्वका दोस्रो छरितो खेलाडी बनेका छन् ।

जारी विश्वकप अन्तर्गत भिसा नपाएका कारण लामिछानेले अमेरिकामा भएको द नेदरल्यान्ड्स र श्रीलङ्का विरुद्धका दुई खेल खेल्न पाएका थिएनन् । यद्यपि श्रीलङ्कासँगको खेल भने वर्षाका कारण रद्द भएको थियो ।

एक किशोरीलाई जबरजस्ती करणी गरेको मुद्दामा लामिछानेलाई काठमाण्डू जिल्ला अदालतले दोषी ठहर गरेपछि उनी राष्ट्रिय टोलीबाट निलम्बित भएका थिए । तर पाटन उच्च अदालतले जेठ २ गते सफाइ दिएपछि उनको निलम्बर फुकुवा भएको थियो ।