गण्डकीका मुख्यमन्त्रीले वैशाख ७ गते विश्वासको मत लिने  

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आउँदो वैशाख ७ गते विश्वासको मत लिने भएका छन् ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभा बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो । तर, प्रदेश प्रमुख डिल्लीराज भट्ट गृह जिल्ला डोटीमा थिए । उनी बिहीबार मात्र फर्कने कार्यक्रम थियो ।

मुख्यमन्त्री अधिकारीले ७ गते विश्वासको मत लिने भएपछि भट्ट पोखरा फर्किएर प्रदेशसभा बैठक आह्वान गरेका हुन् । विश्वासको मत लिनुभन्दा ४८ घण्टा अगावै प्रदेशसभालाई जानकारी दिनुपर्ने हुन्छ । सोहीअनुसार ७ गते दिउँसो ३ बजेलाई प्रदेशसभा बैठक आह्वान गरिएको हो ।

यता, गण्डकी सरकारविरुद्ध गत चैत २८ गते मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध परेको रिटमा वैशाख १० गतेलाई पेसी तोकेको छ ।

वैशाख ७ गते मुख्यमन्त्री नियुक्तिसम्बन्धी सक्कल फाइल उपस्थित गराउन पनि सर्वोच्च अदालतले प्रदेश प्रमुखको कार्यालयलाई आदेश दिएको छ । तर, सर्वोच्चको पेसी अगावै विश्वासको मत लिने तयारी मुख्यमन्त्री अधिकारीले गरिरहेका छन् ।