सत्ता समीकरणको संकट : नेकपा एसको विद्रोह टर्‍यो

काठमाडौँ - सुदूरपश्चिमबाट शुरु हुन खोजेको सत्ता समीकरणको बिभाजनको बिजारोपण अहिलेलाई टरेको देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले यस अघिको आफ्नो निर्णय सच्याउँदै एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन तयार भएसँगै सत्ता समीकरणको संकट टरेको देखिएको छ ।

सुदूरपश्चिममा यसअघि नाउपाका दुई सांसदले गरेको दाबि अस्वीकार गरिएको छ र विहीबारसम्म नयाँ दाबी पेश गर्न आव्हान भएको छ । अब एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री बन्ने तयारीमा छन् । 

उनले एमाले, माओवादी केन्द्रको समर्थनमा सरकारमा दाबि गर्ने तयारी गरेका छन् । सोडारीलाई नाउपाका कति सांसदले सर्मथन गर्छन् भन्ने स्पष्ट रहेको छैन । नाउपामा संसदीय दलको नेताको विवाद र रेशम चौधरी पक्षका बहुमत सांसदले सोडारीलाई समर्थन गर्ने नगर्ने स्पष्ट नरहेकाले सत्ता समीकरणको योजना अनुसार बहुमत पुग्ने स्पष्ट भने भइसकेको छैन ।


सुदूरपश्चिममामा एमालेका १०, माओवादी केन्द्रका १०, एकीकृत समाजवादीका ४ सांसद छन् । त्यस्तै नाउपाका ७ तथा राप्रपा र स्वतन्त्र एक एक सांसद रहेका छन् । एकीकृत समाजवादीले पूर्व सहमति अनुसार आफूलाई मुख्यमन्त्री नदिएको भन्दै समीकरणमा विद्रोह गरेको सुदूरपश्चिमको घटना अहिलेलाई टरेको बताइए पनि यो दीर्घकालीन समाधान भने नभएको विश्लेषण गरिएको छ । एकीकृत समाजवादीले केन्द्रमा सम्मानजनक भागबण्डा मात्र मागेको छैन सातै प्रदेशमा बार्गेनिङ गरिरहेको छ ।