राप्रपाका नेतामाथि कुटपिट प्रकरण : तीन जना निलम्बनमा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालयमा एकजना नेतामाथि भएको कुटपिट प्रकरणमा तीनजना निलम्बनमा परेका छन्।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक चलिरहेका बेला कार्यालय हाताभित्रै केन्द्रीय कार्यसम्पादन समितिका सदस्य डा.ठाकुरमोहन श्रेष्ठमाथि कुटपिटको घटनामा संलग्न भएको आरोपमा तीन कार्यकर्तालाई निलम्बन गरिएको हो।

उक्त घटनाको छानबिन गर्ने जिम्मा पाएको केन्द्रीय अनुशासन समितिको सिफारिसबमोजिम राप्रपाले उपाध्यक्ष विक्रम पाण्डेका सहयोगीसहितलाई ४ वर्षका लागि निलम्बन गरेको हो ।

राप्रपाले उक्त घटनामा संलग्न पार्टीका सहायक महामन्त्री प्रेम बलायर निलम्बनमा परेका हुन्। उनी उपाध्यक्ष पाण्डेका सहयोगी हुन्।

त्यस्तै काठमाडौँ क्षेत्र नं ४ का क्षेत्रीय अध्यक्ष रिद्धीप्रताप राणा र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमलाई निलम्बन गरिएको राप्रपाले जनाएको छ ।

गत फागुन २७ गते आइतबार धुम्बाराहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य डा.ठाकुरमोहन श्रेष्ठमाथि कुटपिट भएको थियो ।