बन्द उद्योग सञ्चालनमा ल्याइने

काठमाडौँ - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बन्द रहेका उद्योग सञ्चालनमा ल्याइने बताएका छन् । आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको १ महीना पुगेको अवसरमा बिहीवार मन्त्री भण्डारीले भएका उद्योग क्षमताअनुसार सञ्चालन र बन्द भएका उद्योग पुनस् सञ्चालनमा ल्याउने काम सरकारको प्राथमिकतामा रहेको बताएका हुन् ।

यसैगरी कञ्चनपुरमा निर्माण हुने दोधाराचाँदनी सुक्खा बन्दरगाह ३ वर्षभित्र सम्पन्न गरिने मन्त्री भण्डारीले बताएका छन् । बन्दरगाह निर्माण प्रक्रिया अघि बढिसकेको र यसका लागि भारतसँग पनि छलफल भएको भन्दै सो अवधिमा सम्पन्न हुने दाबी गरेका हुन् ।

सुक्खा बन्दरगाह, पेट्रोलियम पदार्थ अन्वेषणलगायत काममा प्रगति भएको जानकारी गराएका हुन् । मन्त्रीको पदबहाली गर्दा गरिएका प्रतिबद्धता अनुसार काम भइरहेको उनको दाबी छ । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका क्षेत्रमा यो बन्दरगाह बनाउन गुरुयोजना बनिसकेको छ । उक्त बन्दरगाह शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बनाउने प्रस्ताव गरिएको छ ।

सुक्खा बन्दरगाह बनाउने विषयमा प्रधानमन्त्री र आफू निरीक्षणमा गएको पनि मन्त्री भण्डारीले बताए । यस्तै, नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच मन्त्रालयमा भएको शिष्टाचार भेटमा सीमा क्षेत्रमा रहेका सुक्खा बन्दरगाहको काम अघि बढाउने विषयमा छलफल भएको उनले जानकारी दिए । कोरोना महामारीका कारण समयमै निर्माण हुन नसकेको रसुवास्थित टिमुरे सुक्खा बन्दरगाहको काम समेत सुचारु गर्न सम्झौता भएको उनले बताए । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।