खुम्बु क्षेत्र भ्रमणमा गएका दुई विदेशी नागरिकको मृत्यु

काठामाडौँ । सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा गएका दुई विदेशी नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा बेलायती नागरिक ४२ वर्षीया एलिजाबेथ डायरो र चिनियाँ नागरिक २६ वर्षीय वइनश्व दोङ रहेका छन् ।

जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्क्षेपस्थित एक होटलमा बास बसेका बेलायती नागरिक डायरोको सोही स्थानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक अनिलकुमार मिश्रले जानकारी दिए ।

गत माघ २४ गते नमस्ते ट्रेकिङ कम्पनीमार्फत सगरमाथा क्षेत्र भ्रमणमा आएका उनी लुक्लाबाट सगरमाथा आधार शिविर जाने क्रममा गोरक्क्षेपस्थित हिमालयन लजमा बास बसेका थिए।

सोही दिन साँझ ५ बजेतिर होटलमै बेहोस भई ढलेका एलिजाबेथको केही समयपछि सोही स्थानमा ज्यान गएको प्रहरी निरीक्षक मिश्रले जानकारी दिए।

साथै चिनियाँ नागरिक दोङ रेन्जोला पास गरेर फर्किने क्रममा गत मङ्गलबार मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ मा बाटोमा अचेत अवस्थामा भेटिएका उनको उद्धार गर्ने क्रममा मृत्यु भएको हो। 

दुवै जनाको शव कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि काठमाडौँ पठाइएको स्थानीय प्रहरीले जनाएको छ।