मुख्यमन्त्री जम्कट्टेलको ऐतिहासिक उद्घोष__'बेवारिसे नागरिकको अभिभावक प्रदेश सरकार' 

हेटौँडा - बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले असहाय बेवारिसे नागरिकको अभिभावक प्रदेश सरकार बन्ने बताएका छन् । हेटौँडामा मानव सेवा आश्रमको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले कोही नभएका नागरिकको अभिभावकत्व प्रदेश सरकारले गर्ने बताए ।

प्रदेश सरकारले मानव सेवामा समर्पित संस्थाहरुलाई सहयोग गर्दै मानवताका र असहाय नागरिकको संरक्षणमा काम गरिरहेको उनले बताए । प्र्रदेश सरकार स्थापनादेखि हालसम्म मावन सेवा आश्रमको व्यवस्थापनका लागि विभिन्न कार्यक्रम अन्तर्गत बजेट विनियोजन गर्दै आएको बताउँदै उनले प्रदेश सरकारले स्थापना कालदेखि हालसम्मको अवस्थामा ४ करोड रुपैयाँ भन्दा बढी रकम सहयोगस्वरुप लगानी गरेको उनले बताए । चालु आर्थिक वर्षमा समेत प्रदेश सरकारले ४० लाख रुपैयाँ सवारी खरिदका लगि विनियोजन गरेको उनको भनाई छ ।

प्रदेश सरकारको स्रोत साधनले भ्याएसम्म आगामी दिनमा पनि आश्रमका विभिन्न काममा प्रदेश सरकारले सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । मुख्यमन्त्री जम्कट्टेलले नागरिकहरुको सहायताका विभिन्न विषयमा प्रदेश सरकारले लगानी गरिरहेको र मानव सेवाका काममा पनि निरन्तर रुपमा लगानी गर्ने सोच रहेकाले उचित योजनाका साथ प्रस्ताव पेश गर्न आग्रह गरे ।