वित्तिय संस्थाविरुद्ध अफवाह फैलाउने प्रवृत्ति सरकारका लागि सह्य नहुने अर्थमन्त्री पुनको चेतावनी

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले आफ्नो सीमित स्वार्थ सिद्धिका लागि बैंक तथा वित्तिय संस्थाविरुद्ध अफवाह  फैलाउने प्रवृत्ति सरकारका लागि सह्य नहुने चेतावनी दिएका छन्।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शनिबार राजधानीमा आयोजना गरेको ‘व्यवस्थापन सम्मेलन म्यानेजमेन्ट समिट- २०२४’ लाई सम्बोधन गर्दै मन्त्री पुनले बैंक तथा वित्तिय संस्थाको ऋण नतिरेर कालो सूचीमा परेकाहरूले फैलाएको अफवाहबाट नआत्तिन बैंकर्स सोसाइटी र निजी क्षेत्रलाई आग्रह गरे।

उनले नेपालको बैंकिङ प्रणाली उत्कृष्ट रहेको भन्दै बैंकहरू जत्तिको व्यवस्थित रूपमा सञ्चालित कुनै पनि संस्था नेपालमा नरहेको चर्चा गरे।

कुनै बैंकर्सले गल्ती गरेको भए गल्ती गर्नेमाथि कारबाही हुने भन्दै मन्त्री पुनले आरोपित व्यक्तिका परिवार र बैंकिङ क्षेत्रमा कार्यरत सबै खराब भन्ने प्रवृत्ति देखिएकामा चिन्ता जनाए।

 बैंकिङ क्षेत्र र व्यवस्थाविरुद्ध एउटै प्रवृत्तिले अनास्था फैलाएको टिप्पणी उनको थियो। मन्त्री पुनले देशभित्रै बसेर केही सकारात्मक काम गर्छु भन्ने प्रवृत्तिलाई भने सरकारले सम्मान गर्ने बताए। 

उनले व्यवस्था कार्यान्यवनका क्रममा प्रणालीभित्र भएका कमजोरीबारे समीक्षा गर्न भने तयार रहेको उल्लेख गरे।