नारायणघाट बुटवल सडक: शिलान्यासको चार वर्षमा कालोपत्र सुरु

कावासोती - शिलान्यासको चार वर्षपछि पूर्वपश्चिम नारायणघाट–बुटवल सडकको पूर्वी खण्डको कावासोती क्षेत्रमा कालोपत्रको काम सुरु भएको छ।

नारायणघाटबाट ३० किलोमिटर पश्चिममा रहेको कावासोती र लोकाहाबीचको जङ्गल क्षेत्रमा पाँच सय मिटर सडकमा आज कालोपत्र गरिएको हो।

गत २०७५ चैत ८ गते शिलान्यास भएको पूर्वपश्चिम जोड्ने मुख्य राजमार्गको यसअघि पूर्वी खण्डको हर्कपुर र पश्चिम खण्डको भुमहीमा कालोपत्रको परीक्षण गरिएको थियो।

कावासोतीदेखि लोकाहासम्मको चार किलोमिटर सडक एक साताभित्र कालोपत्र गरिसक्ने आयोजनाका प्रोजेक्ट म्यानेजर राकेश झाले बताए। उनका अनुसार राजमार्गको उत्तरतर्फको साढे सात मिटर फराकिलो सडकमात्र पहिलो चरणमा कालोपत्र गरिएको हो।

“बुधबार गरिएको कालोपत्र छ सेन्टिमिटर बाक्लो छ, दोस्रो चरणमा चैत मसान्तभित्र त्यसमाथि थप चार सेन्टिमिटर बाक्लो कालोपत्र थपिने छ”, झाले भने।

कावासोतीको लोकाहादेखि पश्चिम केरुङ्गेखोलासम्मको क्षेत्र कालोपत्र गर्न थप एक लाख घनमिटर ग्राभेल आवश्यक पर्ने भएकाले निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन र कावासोती नगरपालिकाबीच ग्राभेल खरिदको सम्झौता सम्पन्न भएको जानकारी दिँदै झाले कावासोतीको लोकाहादेखि पश्चिम केरुङ्गेखोलासम्मको सडक चैतभित्र कालोपत्र गरिने बताए।