बोक्सीको आरोपमा मलमूत्र खुवाई कुटपिट गर्ने झाँक्री पक्राउ

काठमाडौँ । बोक्सीको आरोप लगाउँदै एक जना महिलामाथि कुटपिट गर्ने झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको बुढीगंगा  गाउँपालिका–७ की ५० वर्षीय पारो माझीलाई  ५५ वर्षीय महिलालाई कुटपिट गर्दै र यातना दिँदै मानव मलमूत्र दिसा–पिसाब खुवाएर अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले बताए ।

गाउँघरमा धामी झाँक्रीको काम गर्दै आएका माझीले घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएको आरोप लगाउँदै उनले महिलालाई कुटपिट गरेर यातना दिँदै मलमूत्र खुवाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी दाहालले बताए ।

उनका अनुसार जोखाना हेर्दा र तान्त्रिक विधिबाट ध्यान गर्दा दियो चोरेको थाहा भएकाले बोक्सीलाई गर्ने कारबाही गरेको माझीले प्रहरीसमक्ष स्वीकार गरेकी छन् ।

त्यस क्रममा पीडितले आफू बोक्सी नभएको र आफूले दियोसमेत नचोरेको भन्दै यातना नदिन र मलमूत्र नखुवाउन पटक पटक आग्रह गरेको प्रहरीको भनाइ छ ।

माझीलाई पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा पक्राउ गरिएको दाहालको भनाइ छ । उनीविरुद्ध बोक्सी आरोपको कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ । अनुसन्धानका लागि अदालतबाट शुक्रवार म्याद थप गरिने डीएसपी दाहालले बताए ।