कोशीका मुख्यमन्त्री कार्कीले बालकोट पुगेर भेटे एमाले अध्यक्ष ओली

 काठमाडौँ - कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री केदार कार्की नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटन उनकै निवास बालकोट पुगेका छन् ।

एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कार्की मुख्यमन्त्री नियुक्त भएको भोलिपल्ट नै अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका हुन् । शनिवार ४७ सांसखको सशरीर सनाखत गरी बहुमतको आधारमा कोशीका मुख्यमन्त्री बनेका कार्की हिजै काठमाडौं आएका थिए । उनी लगत्तै नेपाली कांग्रेस नेता शेखर कोइरालालाई भेट्न उनको निवास पुगेका थिए ।

नेकपा एमालेको सहयोगमा संविधानको धारा १६८ ५ अन्तर्गत कोशीको मुख्यमन्त्री नियुक्त कार्कीले आज पद तथा गोपनीयताको शपथ लिने छन् । यस्तै मुख्यमन्त्री कार्कीले आजै एमाले र कांग्रेसलाई सहभागी गराउँदै सानो मन्त्रिमण्डल गठन गर्दैछन् । आज शपथ लगतै एमालेबाट राम राना र कांग्रेसबाट समशेर राईलाई मन्त्री नियुक्त गरी शपथ गराउँदैछन् । कसलाई कुन मन्त्री बनाउने भन्ने कुरा अहिले टुङ्गो लागिसकेको छैन ।