सरकारले विकास ऋणपत्र मार्फत ९ अर्ब ४ करोड आन्तरिक ऋण उठाउँदै

काठमाडौँ - नेपाल सरकारले विकास ऋणपत्र मार्फत ९ अर्ब ४ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।

आन्तरिक ऋण उठाउनको लागि सरकारले नेपाल राष्ट्र बैंकमार्फत विकास ऋणपत्र जारी गर्न लागेको हो । केन्द्रीय बैंकले ९ अर्ब ४ करोड रुपैयाँको ६ वर्ष अवधि भएको विकास ऋणपत्र २०८६ ‘ट’ जारी गर्न लागेको हो ।

यस ऋणपत्रका लागि शुक्रबार भदौ २९ गते दिउँसो १२ः३० बजे बोल कबोल हुने भएको छ । यसको निष्कासन मिति भने भदौ ३१ गते तोकिएको छ । ऋणपत्रको भुक्तानी अर्धवार्षिक रुपमा हुने र ब्याजमा कर पनि लाग्ने बैंकले जनाएको छ । इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सकिने सूचनामा उल्लेख  गरिएको छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धीलाई क्रमशः ८५ र १५  प्रतिशत छुट्याइएको छ ।

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानो देखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ‘कट अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम गरी हुने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा बोलकबोल पेश गर्नुपर्नेछ ।