प्रदर्शनका क्रममा घाइते भई मृत्यु भएका डाँगीलाई शहीद घोषणा गर्न राप्रपाको माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत २७ गते काठमाडौँमा भएको प्रदर्शनका क्रममा घाइते भई उपचारका क्रममा मृत्यु भएका ठाकुरप्रसाद डाँगीलाई शहीद घोषणा गर्न माग गरेको छ ।

राप्रपाले आयोजना गरेको प्रदर्शनका क्रममा प्रहरीले छाडेको अश्रुग्यासबाट घाइते भएका बर्दियाका ६५ वर्षीय डाँगीको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएको थियो ।

राप्रपाले संविधान प्रदत्त अधिकारको उपभोग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएकाहरुमाथि गरिएको दमन निन्दनीय भएको पनि बताएको छ ।

डाँगी राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका संस्थापक अध्यक्ष थिए । राप्रपाले सोमबार विज्ञप्ति प्रकाशित गरी डाँगीलाई सहिद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति प्रदान गर्न सरकारसँग माग गरेको हो ।

साथै, उनको निधनमा शोक प्रकट गर्न पार्टीको ७७ वटै जिल्ला कार्यालयमा ३ दिन पार्टीको झन्डा आधा झुकाउने र १३ औं दिनको पुण्यतिथिमा केन्द्रमा र सम्पूर्ण जिल्लामा शोकसभा गर्ने निर्णय गरेको छ ।