म्याद गुर्जेको औषधि भेटेपछि वीर अस्पताल बाहिर सञ्चालित दुईवटा फार्मेसी बन्द  

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल बाहिर सञ्चालित दुईवटा औषधि पसल बन्द गर्न निर्देशन दिएका छन् ।

स्वास्थ्य मन्त्रालय तथा औषधि विभागको संयोजत्वमा बिहीबार गरिएको निरीक्षणका क्रममा सत्यम फर्मा र उपकार सेवा फर्माले म्याद गुर्जेका र दर्ता नभएका औषधि बिक्री वितरण गरेको भेटिएपछि मन्त्री बस्नेतले बन्द गर्न निर्देशन दिएका हुन् ।

मन्त्री बस्नेतले वीर अस्पतालको स्टोरमा औषधि लुकाएर बिरामीलाई बाहिरको फार्मेसीमा किन्न लगाउने गरेको पाइएको बताए । उनले अस्पतालको पार्किङ क्षेत्रमा रहेको ठाउँमा टहरो बनाएर फार्मेसी सञ्चालन गर्नेबारे अस्पतालको व्यवस्थापनसँग छलफल भइरहेको जानकारी दिए ।

मन्त्री बस्नेतले भने, “अस्पतालको स्टोरमा औषधि राख्ने तर फार्मेसीमा औषधि छैन भनेर बिरामीलाई बाहिरबाट औषधि किन्न लगाउने गरेको भेटिएको छ । यो झन् ठूलो समस्या देखिएको छ ।”

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले निरीक्षणका क्रममा ‘फ्रिज’मा राख्नुपर्ने औषधिलाई बाहिर खुला राखिएको भेटिएको बताए । स्वास्थ्य विभागले नियमन गरिआएका औषधि प्रशस्त मात्रामा भेटिएको समेत महानिर्देशक ढकालले जानकारी दिए ।