तीन करोड ९२ लाख ठगी आरोपमा कांग्रेस नेताविरुद्ध जाहेरी

रामेछाप - नेपाली कांग्रेस रामेछापका नेता भरतप्रसाद चौलागाईंविरुद्ध काठमाडौं प्रहरीमा जाहेरी परेको छ । ललितपुर महालक्ष्मी नगरपालिका–८ का सानुभाई थापाले चौलागाईंविरुद्ध उजुरी दिएका हुन् । काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेलका अनुसार चौलागाईं विरुद्ध बैंकिङ कुसर मुद्दामा जाहेरी परेको हो ।

चौलागाईंले थापालाई दिएको ८० लाख रुपैयाँको चेक बाउन्स भइपछि थापा प्रहरीकहाँ पुगेका हुन् । चौलागाईंले माछापुच्छ्रे बैंक लाजिम्पाट शाखामा रहेको खातामा रकम रहेको भन्दै चेक दिएका थिए । उक्त चेक असारमा साटिनु पर्ने भए पनि नसाटिएपछि अहिले प्रहरीकहाँ उजुरी परेको हो । तर, उक्त खातामा रकम नभएको भन्दै बैंकले फिर्ता गरेको थियो ।

पटक–पटक रकमबारे कुरा गर्दा पनि चौलागाईंले बैकमा रकम जम्मा नगरी ठग्न खोजेको भन्दै थापाले चेक बाउन्स गरेर प्रहरीमा जाहेरी दिएका हुन् । थापासँग चौलागाईंले जग्गा कारोबारको लागि तीन करोड ९२ लाख रुपैयाँ लिएको उजुरीमा उल्लेख छ । तर, रकम फिर्ता नभएको बताइएको छ । ८० लाख बाहेक थापासँग चौलागाईंले दिएको अर्को ३ करोड १२ लाखको चेकसमेत बाउन्स भएको छ ।