जाजरकोट भूकम्पमा परि घाइते भएका ४८ जना निको भएर घर फर्किए

बाँके - जाजरकोट भूकम्पमा घाइते भइ नेपालगञ्जमा रहेको भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४८ जना बिरामी निको भएर घर फर्किएका छन् । 

अब भूकम्पमा परि घाइते भएका जाजरकोट र रुकुम पश्चिमका छ जना बिरामीमात्र भेरी अस्पतालमा उपचाररत रहेका जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । सबैजसो बिरामी निको भएर घर फर्किसक्नुभएको छ, अब भेरीमा शल्यक्रिया गरिएका छ जना बिरामीमात्रै हुनुहुन्छ, भनले भने उहाँहरुको स्वास्थ्य अवस्था सामान्य भएका कारण अस्पतालको ‘पेइङ वार्ड’मा राखेर उपचार भइरहेको छ ।

भूकम्पमा परि घाइते भएर उपचारका लागि भेरीमा आएका बिरामीलाई अस्पतालभित्र अलग्गै ‘डिजास्टर वार्ड’ तयार पारिएको थियो । बिरामी निको भएर घर फर्किएपछि वार्ड खाली गराइएको स्रोत व्यक्ति श्रेष्ठले बताए । 

भूकम्पमा परि घाइते भइ भेरीमा उपचार गर्न ल्याइनुभएका ५८ जनामध्ये यसअघि ४८ जना बिरामी उपचारपश्चात् निको भएर घर फर्किसकेका छन् । तीन जनालाई काठमाण्डौ रेफर गरिएको थियो भने एकजनाको अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको थियो ।