स्थानीय तहमा मेयर, उपमेयरलगायत ३४ पद रिक्त, उपनिर्वाचनको लागि नाम दर्ता गर्न मतदाताहरुलाई आयोगको आह्वान

काठमाडौँ - निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनको तयारी अघि बढाएको छ । आयोगले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै २०७९ बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि देशभरबाट विभिन्न कारणले नगरपालिका प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरेर ३४ पद रिक्त रहेकाले उपनिर्वाचन गर्ने तयारी गरेको हो ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम यसरी रिक्त रहेका पदको पदावधि एक वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा निर्वाचन आयोगको परामर्शमा सरकारले मिति तोकी उपनिर्वाचनबाट रिक्त पदको पूर्ति गरिने व्यवस्था रहेको आयोगका प्रवक्ता सहसचिव रघुराम बिष्टले जानकारी दिए ।

उनका अनुसार गाउँपालिका तथा नगरपालिकाका यस्ता पदमा रिक्त हुँदा आमनागरिकलाई सेवा प्राप्तिमा असुविधा हुने विषयलाई मध्यनजर गर्दै उपनिर्वाचनमार्फत पदपूर्ति गर्न आयोगले आन्तरिक तयारी गरिरहेको छ ।

आयोगले निर्वाचनका लागि मतदाता नामावली आधारभूत तत्व रहेको र मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा २ बमोजिम निर्वाचनको मिति तोकिएपछि त्यसै मितिदेखि उक्त निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ । त्यसैले सरकारले उपनिर्वाचनको मिति घोषणा गर्नुपूर्व नै योग्यता पुगेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गरी मताधिकार सुनिश्चित गर्न तथा यस कार्यमा आवश्यक सहयोगका लागि आयोगले सबैलाई आग्रह गरेको छ ।

आयोगले विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका उपनिर्वाचन गर्नुपर्ने स्थानीय तहभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुअघि नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले आग्रह गरेको हो ।