सन्दीपको मुद्दाको पेसी आज

काठमाडौँ - बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा सुनुवाइका लागि उच्च अदालत पाटनले जेठ १ गते आजका लागि पेसी तोकेको छ ।

गत वैशाख २३ गते लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको भए पनि मुद्दा हेर्न नमिल्ने सूचीमा परेको थियो ।

मुद्दा हेर्न नमिल्ने सूचीमा परेसँगै आजका लागि पेशी तोकिएको थियो ।  त्यसअघि, न्यायाधीशद्वय मनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले गौशाला २६को जन्म दर्ता प्रमाणपत्र झिकाउने आदेश गरेको थियो ।

सुनुवाइका क्रममा अब देवानी तथा फौजदारी कानुनका विज्ञ वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले पनि सन्दीपका पक्षमा बहस गर्ने भएका छन् ।

सन्दीपको कानुनी टिमको संयोजन गरिरहेका अधिवक्ता सरोजकृष्ण घिमिरेले पहिलेको टिममा बिडारीसहित तीनजना वरिष्ठ अधिवक्ता थपिएको जानकारी दिए। योसँगै  सन्दीपको पक्षमा बहस गर्ने कानुन व्यवसायीको संख्या १२ पुगेको छ । जसमध्ये नौजना सुरुदेखि अर्थात् जिल्ला अदालत काठमाडौंमा भएको बहसदेखि नै सन्दीपको कानुनी टिममा छन् ।