'नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउन विशेष योजना आवश्यक छ' : सभामुख घिमिरे

काठमाडौँ - सभामुख देवराज घिमिरेले राजनीतिक नेतृत्वले समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउन विशेष योजना, मार्गचित्र निर्माण गरेर कार्यारम्भ गर्न जरुरी रहेको बताएका छन् ।

नयाँ वर्ष २०८० का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा सुख, शान्ति, समृद्धि र आरोग्यताको शुभकामना व्यक्त गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई मजबुत बनाउँदै जनताको विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने अभियानलाई तीव्रता दिनैपर्ने बेला भएको उल्लेख गरेका छन्। नयाँ वर्ष प्रवेश गरिरहँदा आर्थिक क्षेत्रमा सकारात्मक सङ्केतहरू देखिन थालेको उनको भनाइ छ ।

“राज्यका तीन अङ्गमध्ये कानुन निर्माण गर्ने मुख्य थलो संसद् हो, प्रतिनिधिसभाले विधेयकमाथिको छलफल सुरु गरेको छ, संसद्लाई अझै प्रभावकारी र गतिशील बनाउन सबै राजनीतिक दलसँग छलफल भइरहेको छ”, सन्देशमा भनिएको छ ।

उनले जनसहभागिता, राजनीतिक सहमति, सहकार्यका आधारमा संसद्ले बनाउने कानुनले आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र सुशासन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएको लिँदै जनताको सार्वभौमसत्ता प्रयोग हुने संसद्लाई प्रभावकारी बनाउँदै जनमुखी र प्रगतिशील कानुन निर्माण गर्न प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।

नयाँ वर्षमा प्रवेश गरिरहँदा हामीले विगतको वर्षको समीक्षा गर्नु आवश्यक रहेको उहाँको भनाइ छ । विसं २०७९ मा तीनवटा निर्वाचन सम्पन्न भएर मुलुक नयाँ जनप्रतिनिधिको काँधमा आएको उल्लेख गर्दै उनले राजनीतिक रूपमा अघिल्लो वर्ष परिवर्तनको वर्ष भए पनि आर्थिक र पूर्वाधार विकासमा भने उल्लेख्य प्रगति हुन नसकेको उल्लेख गरेका छन् ।