'एमालेले सरकार छाडेपछि विकास र समृद्धिको यात्रा अवरुद्ध भयो ': अध्यक्ष ओली

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बितेको वर्ष सुखद हुन नसकेको बताएका छन् । नयाँ वर्ष २०८० को शुभकामना दिँदै अध्यक्ष ओलीले राजनीतिक स्थिरताको दृष्टिकोणले बितेको वर्ष सुखद हुन नसकेको बताएका हुन् ।  

एमालेले सरकार छोडेपछि राष्ट्रहित संरक्षण, सुशासन, विकास र समृद्धिको यात्रा अवरुद्ध भएको भन्दै ओलीले विकास र समृद्धिको यात्रा अघि बढाउने प्रयास गरेपनि अवसरवादी चरित्रका कारण उक्त प्रयास सफल नभएको बताए  ।

उनले मुलुकमा निर्माणको प्राथमिकताबाट विमुख, भ्रष्टाचार, कुशासन, विसंगति, बेथिति र अस्थिरताका पुराना दुःषित खेलको पुनरावृत्ति भएको टिप्पणी गरे । अध्यक्ष ओलीले राष्ट्रिय हितलाई तिलाञ्जली दिँदै क्षणिक र निजी स्वार्थ आधारित कूटनीतिक चरित्रका कारण राष्ट्रिय हितमाथि गम्भीर प्रहार भइरहेको बताए । 

आफूले सुरु गरेको विकासको राष्ट्रिय बहस सेलाएको र त्यसको ठाउँमा सत्ताशक्तिको अनुचित भागबण्डा, लेनदेन र राज्य स्रोतको दोहन मौलाएको उनले उल्लेख गरे । 

अध्यक्ष ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न एमालेको 'मिसन ग्रासरुट' अभियानलाई सहयोग गर्न सबैसँग आग्रह गरे ।