लगानी सम्मेलनमा सहभागी हुन विश्वका लगानीकर्तालाई अध्यक्ष ढकालद्धारा आह्वान  

काठमाडौँ । उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा जलविद्युत्, पर्यटन, कृषि तथा उत्पादन लगायतका क्षेत्रमा लगानी गर्न विश्वका लगानीकर्ताहरुलाई आह्वान गरेका छन् ।

संयुक्त अरब इमिरेट्सको दुबइमा आयोजित विश्व सरकार शिखर सम्मेलन (वल्र्ड गभर्मेन्टस् समिट) मा नेपालको निजी क्षेत्रका तर्फबाट धारणा राख्दै अध्यक्ष ढकालले नेपालमा लगानीका प्रचुर सम्भावना रहेकाले विश्वका लगानीकर्ताहरुलाई यसबाट लाभ लिन आग्रह गरेका हुन् ।

नेपाल सरकारले मुलुकमा लगानीको प्रक्रियालाई सरल बनाउन, नियामकीय कतिपय झन्झट कम गरी पारदर्शिता अभिवृद्धि गर्न र व्यावसायिक वातावरण निर्माण गर्न नेपाल सरकार र निजी क्षेत्रका तर्फबाट पहल भइरहेको कुरा पनि सो सम्मेलनमा राखेको महासङ्घले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

शिखर सम्मेलनमा अध्यक्ष ढकालले नेपालको अर्थतन्त्र र देशको अर्थतन्त्रको विकासमा निजी क्षेत्रको भूमिकाका बारेमा चर्चा गर्दै नेपालको वर्तमान आर्थिक अवस्थाका बारेमा पनि जानकारी गराएका थिए ।