६ केजी सुन र ६२ लाख नगदसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ ।  स्रोत नखुलेको ठूलो परिणाममा सुन चाँदीका गरगहना र नगदसहित पोखराबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतको पश्चिम बंगाल मेदिनिपूर दासपूर- ११ घर भइ हाल पोखराको मोहोरिया टोलमा भाडाको घरमा बस्ने ४० वर्षीय सुरजित भौमिक पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले सोमबार साँझ उनको डेरामा छापा मार्दा नगद ६२ लाख ८१ हजार रुपैयाँसहित पक्राउ गरेको थियो ।

स्रोत नखुलेको रकमसहित पक्राउ गरेको भौमिकलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा थप सुन चाँदी पनि फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले बताए ।

‘सुरुमा घरभेटीको कोठा भनियो । पछि अनुसन्धान गर्दा भौमिकै कोठा भएको खुुल्यो । कोठामा छापा मार्दा स्रोत नखुल्ने सुन चाँदीको गहन भेटियो’,एसपी थापाले भने ।

भौमिकको साथबाट ५ केजी २२ ग्राम सुनका गरगहना, ९९९ग्राम काँचो सुनको बिस्कुट र अर्को ५० ग्रामको सुनको ढिक्का फेला परेको एसपी थापाले जानकारी दिए । उनको साथबाट गरगहन र काँचो सुन गरेर ६ केजी ६९ ग्राम बरामद भएको हो ।

थप अनुसन्धानका लागि पक्राउ परेको भौमिकलाई बुधबार राजस्व अनुसन्धान विभाग पुल्चोक ललितपुर पठाउने प्रहरीको तयारी छ ।