आँधीका कारण अष्ट्रेलियामा करिब दुई लाख घरमा विद्युत् सेवा अवरुद्ध

एजेन्सी । शक्तिशाली आँधीका कारण पूर्वी अस्ट्रेलियामा एक लाख ७४ हजार घर तथा व्यवसायमा क्षति पुगेको अधिकारीहरूले बुधबार बताएका छन् ।

भिक्टोरिया राज्यको ठूलो भूभागमा मङ्गलबार खराब मौसमका कारण १५० किलोमिटर प्रतिघण्टा ९९० माइल प्रतिघण्टा भन्दा बढीको हुरी चलेको राज्य सरकार र आपतकालीन सेवाहरूले बताएका छन् ।

भिक्टोरिया प्रहरीले एक विज्ञप्ति जारी गर्दै ५० वर्षीय एक डेरी किसानको छतमा काम गर्ने क्रममा उडेको भग्नावशेषले किचेर मृत्यु भएको जनाएको छ । आँधीका कारण मेलबर्नको पश्चिममा रहेको ग्रामपियन क्षेत्रमा पनि डढेलो लागेको र एउटा सानो सहरका केही घर टहरा जलेर नष्ट भएको राज्यको अग्नि नियन्त्रण प्राधिकरणले जनाएको छ ।

अष्ट्रेलियाली इन्धन बजार सञ्चालकका अनुसार आँधीका कारण शुरूमा पाँच लाख ३० हजार घर परिवार तथा व्यवसाय विद्युत्विहीन बनेका छन् । बुधबार दिउँसोसम्म पनि करिब एक लाख ७४ हजार घर परिवार विद्युत् सेवाबाट बञ्चित भएको बताइएको छ ।
हावाहुरीले घरका छाना उडाएको, रुख र बिजुलीका खम्बाहरू ढलाएको सञ्चारमाध्यम र सामाजिक सञ्जालमा शेयर गरिएका तस्वीरहरूमा देखिएको छ ।

 भिक्टोरिया राज्यका आपतकालीन व्यवस्थापन आयुक्त रिक नुगेन्टले चट्याङका कारण भिक्टोरियामा ‘धेरै पटक आगलागी’ भएको बताए । 

मेलबर्नको द एज पत्रिकामा प्रकाशित एक रिपोर्टअनुसार कति घरमा क्षति भयो भन्नेबारे अहिले नै भन्न सकिने अवस्था नरहेको राज्यका अग्निनियन्त्रक अधिकारीले बताएका छन् ।